पत्रकार महतो न्यायका लागि अदालत जाने

shailendraजनकपुर, – समाचार संकलनको क्रममा कुटपीट गर्ने दोषी प्रहरीमाथि कारबाही नभएको भन्दै पत्रकार शैलेन्द्र महतो न्यायको लागि अदालत जाने भएका छन् ।

आफूमाथि कुटपिट भएको दुई हप्ता भैसक्दा पनि नेपाल पत्रकार महासंघ धनुषा शाखाले दोषी प्रहरीमाथि कारबाही गराउन खासै चासो नलिएको र प्रशासनले समेत कारबाही गर्न प्रक्रिया सुरु नगरेको भन्दै पीडित पत्रकार महतोले बुधबार  पत्रकार सम्मेलन गरी न्यायको लागि अदालत जाने बताउनुभएको हो ।

उज्यालो नाइन्टी नेटवर्कका धनुष संवाददाताको रुपमा कार्यरत पत्रकार महतोमाथि गएको साउन ४ गते संविधानको प्रारम्भिक मस्यौदाको रायसुझाव संकलन स्थल जनकपुर उद्योग बाणिज्य संघ बाहिर प्रेस लेखिएको ज्याकेट र परिचयपत्र लगाएर  समाचार संकलनका लागि गएका बेला प्रहरीले कुटपिट गरेको थियो ।

घटनामा संलग्न दोषी धनुषाका प्रहरी उपरीक्षक गणेश बहादुर थापा, प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई र प्रहरी निरीक्षक निरञ्जन थापालाई कारबाही गर्न प्रशासनले आलटाल गरेको पत्रकार महतोको भनाई छ ।