गोरखापत्रबाट पत्रकार निकालेकोप्रति संघको आपत्ति

सप्तरी, साउन २२ गते । सरकारी पत्रिका गोरखापत्रमा जिल्ला समाचारदाताको रुपमा कार्यरत सप्तरीका नविन गुप्ता, सुनसरीका जयकृष्ण यादव र सिरहाका रोयण्टल मण्डललाई विना जानकारी पत्रिकाबाट निकालेको भन्दै मधेशी पत्रकार संघ सप्तरी शाखाले त्यसको विरोध गरेको छ ।
सो शाखाले आज साँझ एक विज्ञप्ति जारी गरी सरकारको मातहतमा रहेका ‘गोरखापत्र राष्ट्रिय दैनिक’ मा मधेशका जिल्लाहरुबाट कार्यरत संवाददाताहरुको नियुक्ति पत्रको म्याद थप नगरी काम गर्नबाट बन्चित गरिएको प्रति ध्यानाकर्षण भएको भन्दै ती पत्रकारहरुलाई काम फर्काउन माग गरेको छ ।
सप्तरीबाट सक्रिय रुपमा पत्रकारिता गर्दै आएका युवा पत्रकार नवीन कुमार गुप्ता, सिरहाका रोयन्टल मण्डल र सुनसरीका जयकृष्ण यादवको म्याद नथपिएको भन्दै पत्रकारहरुलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गर्ने नियतबाट अभिप्रेरित भई ‘गोरखापत्र राष्ट्रिय दैनिक’ ले पत्रकारहरुको म्याद नथपेको ठहर गर्दै पत्रकारहरुको कार्यकाल म्याद थप गरी पुनः काम गर्ने जिम्मेवारी प्रदान गर्न माग गरेको छ ।